काठमाडौं,२४ मंसिर– मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ १६५ मध्ये आधाभन्दा बढी स्थानको नतिजा सार्वजनिक भैसकेको छ ।
प्रत्यक्षको सकिएका जिल्लामध्ये ७ जिल्लामा समानुपातिको पनि गणना सकिएको र १६ जिल्लामा जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिको पछिल्लो नतिजाअनुसार एमालेले ७६ हजार ५२४ मत, कांग्रेसले ७२ हजार ८१२, माओवादी केन्द्रले ३० हजार ९६, नयाँ शक्तिले ६ हजार ५६२, राष्ट्रिय जनता पार्टीले ३ हजार ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ५४२ मत, विवेकशील साझा पार्टीले ८९९, नेकपा मालेले ६७८, राप्रपा (प्रजातान्त्रिक)ले ६०२, संघीय समाजवादी फोरम,नेपालले ४५७ तथा अन्य दलले १ हजार ७३५ मत पाएका छन् ।
आयोगका अनुुसार रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना सकिएको हो ।
त्यस्तै, बाँकी आठ जिल्लामा समानुपातिकको गणना जारी रहेको छ । समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन् ।
यसैबीच मंसिर २१ गते दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भई हिजो पुनः मतदान सम्पन्न भएपछि अर्घाखाँची जिल्लाको मतगणना कार्य गएरातीबाट सुरु भई मतपरिणाम आइरहेको छ ।
दलहरुबीचको विवादका कारण मतणना सुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना सुरु हुने क्रममा रहेको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटजानकारी आएको आयोगले जनाएको छ ।

