कास्कीः३० बैशाख– पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेको खुलेको छ । सुरुमा दर्ता गरेका व्यक्तिले स्थानीयलाई बिक्री गरेको र पछिल्लो समय जंगल फँडानी हुन थालेपछि रहस्य बाहिर आएको हो ।
पोखरा लेखनाथ-३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिले दर्ता गरेका छन् । पुर्खौंदेखि सार्वजनिक सन्धिसर्पनका रुपमा प्रयोग हुँदै आएको उक्त जंगलबाट स्थानीयले वस्तुभाउलाई घासपात र दाउरा जुटाउँदै आएका थिए । जंगलको बीचमा रहेको खानेपानीको मुहान अहिले पनि सबैले प्रयोग गरिरहेका छन् ।
तनहुँको खैरेनीटारस्थित तत्कालीन कृषि केन्द्रमा काम गर्ने कुमार मालीकी श्रीमती उमादेवी र साबिकको कास्की शिशुवाका नगेन्द्रमणि भण्डारीका नाममा उक्त जंगल दर्ता भएको स्थानीयले बताए । जंगल व्यावसायिक प्रयोजनका लागि फँडानी गर्न लागिएपछि उनीहरुले खोज्दै जाँदा पहिल्यै व्यक्तिका नाममा दर्ता गरिएको थाहा पाएका हुन ।
माली र भण्डारीले २०७२ मा उक्त जंगल स्थानीय बेलबहादुर कार्की र साना यज्ञप्रसाद अधिकारीलाई बिक्री गरेको पाइएको छ । स्थानीय बासिन्दा जंगल फर्काउन चैनपुर पशुपतिघाट वन संरक्षण समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा हालेका छन् । news by ekantipur

