५ वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ

काठमाडौं, ४ चैत – भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गर्नुभएको छ । आज रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्न कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरू सम्पन्न गरेरै छाड्ने दावी गर्नुभयो ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताउनुभयो । साक्षात्कारमा मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाडौंमा रेलमार्ग निर्माण हुने दाबी समेत गर्नुभयो । महासेठले केही दिनभित्र नै काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौं उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पार्नुभयो ।

इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उहाँको भनाइ छ । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । इच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस्,’ महासेठले भन्नुभयो, ‘थाई एयरवेज र नेपाल वायु सेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाई एयरवेज आज कहाँ पुगिसक्यो। नेपाल वायु सेवा निगम कहाँ छ? इच्छाशक्तिका कारण हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here