एजेन्सी– विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेका २६ जना रिहा भएका छन् । तीन वर्षदेखि आइएसको कब्जामा २६ जना बालबालिका, महिला र पुरुष रिहा भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
उनीहरुलाई कुर्द लडाकुको प्रभाव रहेको इराकको दोहकको राष्ट्र संघको शिविरमा राखिएको छ । तर राष्ट्र संघले उनीहरुको रिहाई कसरी भयो भन्नेबारे जानकारी नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केहीले आफै भागेको बताए पनि केहीले आईएसले नै मुक्त गरेको बताईएको छ । राष्ट्र संघले आइएसको कब्जामा रहेका अरु नागरिकको रिहाईमा समस्या पर्न सक्ने भन्दै कुनै जानकारी नगराएको बुझिएको छ ।
आइएसले सन् २०१४ मा हजारौँ नागरिकलाई कब्जामा लिएको थियो । आइएसको कब्जामा अझै १७ सय महिला र किशोरी रहेको अनुमान गरिएको छ ।

