३ गिर्जाघरमा बम आक्रमण कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी–इन्डोनेसियाको सुराबियाका ३ गिर्जाघरमा आइतबार गरिएको बम आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आक्रमणको समयमा गिर्जाघरमा प्रार्थना गरिरहेका थिए ।

आइतबार बिहान साढे सात बजेतिर एकै समय भएका आक्रमणमा एकै परिवारका सदस्यहरुको संलग्नता रहेको बताएको छ । प्रहरी अधिकारी टिटो कर्नाभियनले एक महिलाले आफूसहित दुई बच्चालाई एक गिर्जाघरको आक्रमणमा आत्मघाती बमले उडाएको बताए । उनका अनुसार उक्त महिलाका श्रीमान् र दुई छोराले अन्य दुई गिर्जाघरमा बम विस्फोट गराएका थिए ।
मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा आक्रमण गर्ने गरी योजना बनाएको प्रहरीको भनाइ छ । इस्लामिक स्टेटले आफूले गराएको दाबी गरेको आक्रमण इन्डोनेशियामा भएको सन् २००५ पछिकै ठूलो हो ।
यसअघि इन्डोनेशियाको गुप्तचर संस्थाका वावान पुर्वान्टोले आक्रमण इस्लामिक स्टेट आवद्ध जेमाह अन्सहरुत दौलह (जेएडी) ले गरेको बताएका थिए । आक्रमणमा ४० मानिस घाइते भएका प्रहरीले जनाएको छ । अधिकारीहरुले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न पनि सक्ने जनाएका छन् ।
मुस्लिम बाहुल्य भएको इन्डोनेसियामा पटकपटक गिर्जाघरमा आक्रमण हुने गरेको छ । अधिकारीले रमादानको पूर्वसन्ध्यामा गिर्जाघरमा आक्रमण हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाएको बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here