काठमाडौं, १८ फागुन– काठमाडौं उपत्यकामा आजदेखि २० वर्ष पुराना सवारीसाधन चल्न नपाइने भएको छ । सरकारले झन्डै दुई वर्षअघि गरेको निर्णय आजदेखि लागु गर्न लागेको हो ।
यातायात व्यवस्था विभागले ट्रफिक प्रहरीलाई पत्राचार गर्दै आजदेखि २० वर्ष पुराना सवारी साधनलाई रोक्न भनेको छ । अत्यन्तै पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम बढी हुने र प्रदूषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय रहेको हो ।
विभागले आजदेखि उपत्यका भित्र कालो नम्बर प्लेटका २० वर्ष पुराना बस, मिनी बस माइक्रोबस, टेम्पो, ट्रक, पिकअफ ट्याक्सी लगायतका सवारी साधन चल्न सरकारले रोक लगाउने भएको हो । नियमलाई अटेरगरि गाडी सडकमा ल्याएमा जफत गर्ने सरकारको तयारी रहेको विभागका प्रवत्तला डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।
विभागका अनुसार उपत्यकामा २० वर्षे गाडी सञ्चालनमा रोक लगाउने कार्य सफल भएपछि मुलुकभरका पुराना गाडी गुड्न प्रतिबन्द लगाइने सरकारको तयारी छ । यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक सवारीसाधनको हकमा मात्रै यो नियम लागु हुनेछ ।

