काठमाडौँ, २७ फागुन- सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् ।
यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । “सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिँदैन, चैत १ गतेपछि पनि २० वर्ष पुराना सवारी सडकमा गुड्छन्”, उहाँले भन्नुभयो ।
यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको छ । यही फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । “चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे जफत गरी सरकारले ‘रुट इजाजत’ दिँदैन, निर्णय कार्यान्वयन गर्न चैत १ गतेदेखि विभाग सडकमा उत्रन्छ”, उहाँले भन्नुभयो ।
देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटी सवारीको प्रदूषण जाँचपास राम्रोसँग भए २० वर्ष पुरानालाई हटाउनु नपर्ने बताउनुहुन्छ । “प्रदूषण जाँचपास गर्नेलाई रु २००–३०० सम्म घुस खुवाए हरियो स्टिकर पाइन्छ, सवारीको जाँच नै गर्दैनन्, जाँच पास गर्न घुस खुवाउन तयार हुनेले सवारी नलिई गए पनि हरियो स्टिकर लिएर फर्कन सक्छ, प्रदूषण बढ्नुको कारण यो हो, समस्या समाधानका लागि अनुगमन हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।
उपत्यका बाहिर जाने सवारीको अवस्था जाँच गरेर मात्र जान पाउने व्यवस्था गरिए दुर्घटना पनि कम हुने सर्वोच्च महासंघको भनाइ छ । यी दुवै व्यवस्था सही ढंगले कार्यान्वयन गरिए २० वर्ष पुराना सवारी हटाउनै नपर्ने अध्यक्ष शिवाकोटीको जिकिर छ ।

