१७ किलो सुनसहित पक्राउ परेका लामालाई १० बर्ष ६ महिना कैद

Gold bars

काठमाडौं,१८ जेठः१७ किलो सुनसहित पक्राउ परेका मनाङ नासों गाउँपालिका ९, दानाक्युका ३१ बर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यको इजलासले बिगो बमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवाना समेत तोकेको छ । संगठित अपराध ऐन २०७० अन्तर्गतको मुद्धामा उनलाई थप ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो ।

गत कार्तिक १६ गते पक्राउ परेका लामालाई पुस १७ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागारमा राखिएको थियो । प्रहरीले मुद्धा चलाएको करीब साढे ६ महिनाकै अवधिमा सुन बोकेर ल्याएका भरियालाई कैद फैसला सुनाएपनि यसमा संलग्न को हुन् भन्ने अझै पत्ता लगाउन सकेको छैन ।

प्रहरीले जिल्ला न्यायाधिबक्ताको कार्यालय हुँदै अदालतमा पेश गरेको मिसिलमा पासाङले झक्टु लामा भन्ने ब्यक्तिले २० हजार रुपैयाँ दिएर बेंसीसहरमा पुर्‍याउन भनेको र झक्टुले गोरखा घर बताउने औतेमा लामाको नाम लिने गरेको उल्लेख छ । उनीहरुको वतन नखुल्दा अनुसन्धान तस्करसम्म नपुगेको प्रहरी बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here