११ बुँदे सहमती भएपछि प्रतिष्ठानको विवाद समाधान

नारायणपुर, २५ माघ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४ दिनदेखि चल्दै आएको विवाद समाधान भएको छ ।

साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारी, करार कर्मचारी र ज्यालादारी कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजनको लागि राखेको माग पूरा भएपछि आन्दोलन टुङ्गिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको नेतृत्वमा केन्द्रबाट आएको टोलीले वार्ताको माध्यमबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गरेको हो ।

आन्दोलनरत कर्मचारीलाई प्रतिष्ठान कर्मचारीको समानस्तर र तहको पदमा प्रचलित नियम कानूनबमोजिमका सर्त, बन्देज र सेवा सुविधा लागू हुने गरी समायोजन गर्ने सहमतिसहितको ११ वटा बुँदामा सहमति भएको छ ।

कर्मचारीको हालसम्म भुक्तानी गर्न बाँकी तलबभत्ता पाउने, श्रेणीविहीन तथा ज्यालादारी कर्मचारीको सेवा अवधि प्रतिष्ठानले तेस्रो पक्षबाट लिनु परे कार्यरत कर्मचारीलाई लिने, नेपाल सरकारको करार कर्मचारीको हकमा नेपाल सरकारले नीति बनाइरहेकाले सोही नीतिअनुसार नै हुने र प्रतिष्ठानले करारमा लिनका लागि विज्ञापन भएमा प्राथमिकता दिने सहमति भएको छ ।

यस्तै ज्यालादारी कर्मचारीको हकमा प्रतिष्ठानले मासिक ज्यालादारीको सम्झौता गर्ने र आन्दोलनरत कर्मचारीले आजैदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएर आफ्नो काममा फर्किएर सञ्चालन गर्ने सहमति भएको सङ्षर्घ समितिका सयोजक हिमराज गौतमले बताउनु भयो।

प्रतिष्ठानको उपकुलपति डा सङ्गीता भण्डारी र आन्दोलनरत कर्मचारीको तर्फबाट हिमराज गौतम र ठगुराम भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा यादव नेतृत्वको टोलीमा विशिष्ट श्रेणीको प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानून मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । टोलीले आन्दोलनरत पक्ष, नागरिक समाज, राजनीतिक दलसँग समेत छलफल गरेको राज्यमन्त्री डा यादवले बताउनुभयो ।

राप्तीकै सबैभन्दा पुरानो २०१६ सालमा स्थापनाभएको अस्पताल प्रतिष्ठानमा रुपान्तरण बनेपछि स्वास्थ्य सेवा र प्रतिष्ठानअन्तर्गतका चिकित्सक एवं कर्मचारी विवादले अस्तव्यस्त बनेको थियो ।

वार्तापश्चात् कर्मचारीले आजैदेखि आफ्नो काम शुरु गरेका छन् । २२ लाखभन्दा बढी जनसङ्ख्यालाई सेवा पु¥याउँदै आएको सो अस्पताललाई सरकारले ०७४ असोज २९ गते प्रतिष्ठानमा परिणत गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here