काठमाडौं,३० फागुन । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत रुपमा सुरु भएको छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ विहिवार होली पर्व मनाइदैँ छ । काठमाडौंको बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा यस वर्षको फागु अर्थात होली सुरु भएको मानिन्छ ।
केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा शुभसाइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडेको थियो ।
धालासिक्व मानन्धर सनाःगु खलः गुठीका मानन्धरहरुले चीर गाड्नुपर्ने परम्परा मल्लकालीन राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक बर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ ।

