शान्ता दीक्षित, निर्देशक–रातो बंगला स्कुल
सामाजिक चेतना एवं महिलामा भरिएको साहसका कारण महिला हिंसा अब गुपचुप रहने अवस्था छैन । यसलाई घटाउन महिलालाई मात्र नभई पुरुषलाई समेत यो अभियानमा अभियन्ता बनाउनु जरुरी छ । मानव भएपछि मेरो कर्तव्य–जिम्मेवारी के हो भन्ने ज्ञान हरेकमा आवश्यक छ । विद्यालयमा लिसनिङ स्किल (अरूको खेमाका पनि कुरा सुन्ने) मूलक शिक्षा दिनु जरुरी छ । सञ्चार माध्यम पनि यो विषयमा गम्भीर हुनुपर्छ । विषयवस्तु बुझेर संवेदनशील ढंगले सूचनाहरू प्रसारण गर्नुपर्छ । अधिकार र जिम्मेवारी महसुस गर्न सक्ने समाजमा हिंसा कम हुन्छ । वास्तविक खुबी एवं महिला हिंसाविरुद्धको कानुन कार्यान्वयन गर्न सकियो भने समाज हिंसामुक्त बन्न कुनै समय लाग्दैन ।

