हावा हुरीका घाइतेको उपचारमा कुनै कसर बाँकी हुदैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,१८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले घटनामा घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो ।
आज दिउँसो काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँले घटनामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको पनि बताउनुभयो । आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो ।
यो घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको जनाएको छ । प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्साका विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भैरहेको जानकारी दिनुभयो । काठमाण्डौ ल्याइएका घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here