अल्टिच्युड एयरको हेलिकप्टर धादिङकाे मेघाम डाँडामा देखियाे, माैषमका कारण उद्धारमा समस्या

धादिङ २३ भदाैंः गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर धादिङकाे मेघाम डाँडामा देखिएकाे छ । शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए।

अल्टिच्यूटका संचालक सिताराम सापकोटाका अनुसार, १२ बजेतिर अल्टिच्यूट एयरको उद्धारकालागि गएको हेलिकप्टरले घटनास्थल देखेको जनाएकाे छ। जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकाेटाले बताएका छन् । मौसम सफा नभएका कारण उद्धार कर्ता नजिक पुग्न सकेका छैनन्।

काठमाडौंबाट श्री एयरको हेलिकप्टरमा मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुग्दै छ। सिम्रिक एयरको हेलिकप्टरले डोरीबाट उद्धार गर्ने शेर्पा गाइडहरुको टोली लिएर गएको छ।

उक्त हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमत्सु,रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा चुमनुव्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु , सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट केसी थिए।

काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो। स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्खा प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here