काठमाडौं,३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्ष (२०७५÷७६) मा भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा मन्त्रालयमा आज विभिन्न ८ विषयका ५० मुख्य उपलब्धि सार्वजनिक गरिएको हो ।
मन्त्रालयले नीत, रणनीति, ऐन, नियम, मापदण्ड, निर्देशिका र कार्यविधि अन्तर्गत १७ वटा, स्वास्थ्य संस्था तथा निकायहरु हस्तान्तरणमा २, योजना तर्जुमा, अनुगमन, मूल्यांकन र समन्वयमा ७, सेवा प्रवाहमा १०, विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्यमा ६, अध्ययन, अनुसन्धान र सर्वेक्षणमा ३, भौतिक पूर्वाधारमा ३ र विशेषज्ञ चिकित्सक परिचालनमा १ गरी ५० वटा मुख्य उपलब्धि सार्वजनिक गरेको हो ।
उपलब्धि सार्वजनिक कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सरकारले छुट्ट्याएको बजेट निकै कम भएको बताउनुभयो । उहाँले स्वास्थ्यको बजेट कुल बजेटमा कम्तिमा १० प्रतिशत हुनुपर्ने र यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले संघीय संरचना अनुसार काम अगाडि बढाउने क्रममा केही काममा ढिलाई हुन पुगेको बताउनुभयो । अर्का सचिव रामप्रसाद थपलियाले कर्मचारी समायोजनको काममा ढिलाई हुँदा कर्मचारीदेखि मन्त्रीसम्म खुसी हुन नसकेको उल्लेख गर्नुभयो ।

