काठमाडौँ, २६ साउन:प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काग गर्न आग्रह गर्नुभयो ।
आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएका डा केसीलाई उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन । माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।”
“जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ,” प्रधानमन्त्री ओलीले केसीलाई भन्नुभयो, “त्यसको कमाण्ड तपाई सम्हाल्नुस्, दुर्गमका जनतामा स्वास्थ्य सेवा पु¥याउन अवरोध गर्ने विरुद्ध डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।”

