काठमाडौं,१ फागुन– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची आज प्रकाशित गरिने भएको छ ।
आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया अन्र्तगत त्रिविबाट मान्यता पाएका क्याम्पसहरुले आज पहिलो दिन मतदाता सूची प्रकाशित गर्ने छन् ।
पर्सी ३ गते मतदाता सूचीमा दाबी विरोध गर्ने, सोही दिन अन्तिम मतदाता सूची सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
फागुन ४ गते मनोनयनपत्र वितरण गर्ने, फागुन ५ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ । फागुन १४ गते स्ववियुकालागि मतदान गर्ने गरी कार्यतालिका तय गरिएको छ ।
त्रिविका ६० आङ्गिक क्याम्पसका साथै सम्बन्धन लिएका अन्य क्याम्पसहरूमा पनि निर्वाचन हुनेछ । २०६५ सालमा ३५२ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । हाल त्रिविबाट एक हजार ८४ क्याम्पसले सम्बन्धन लिएका छन् ।
त्रिवि स्ववियु निर्वाचनमा करिब साढे दुई लाख विद्यार्थी सहभागी हुने बताइएको छ । त्रिविले विद्युतिय मेसिनबाट मतदान गराउने तयारी गरेको छ ।

