स्वनिर्णयको अधिकार लोकतन्त्र-अशोक राई

सुनसरी,१७ मंसिर– सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ ।

लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न पाउने अधिकार प्राप्त गर्ने व्यवस्था नै लोकतन्त्र भएको बताउनुभयो ।

नेता राईले आफू अहिले लोकतन्त्रको आधार मजबुत बनाउने अभियानमा जुटेको बताउनुभयो । वाम गठबन्धनका नाममा देश बनाउन वामपन्थीको सरकार जरुरी छ भनेर भ्रम छर्ने कार्य भइरहेकाले विगतप्रति हेक्का राख्न उहाँले धरानवासीलाई आग्रह गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका राईले झण्डै तीन दशकदेखि धरानवासीले वामपन्थी नेतालाई निर्वाचनमा जिताउँदै आए पनि धरानवासीले त्यसको असल प्रतिफल नपाएकाले अब मतदान गर्दा लोकतन्त्र पक्षमा अभिमत दिन आग्रह गर्नुभयो ।

नेपालमा प्रजातन्त्र आएपछि भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुखसमेत रहनुभएका वाम नेता ध्यानबहादुर राई समेतको सहकार्यमा चुनावी प्रचार अभियानमा रहनुभएका राईले राजनीतिक परिवर्तनको खास अनुभूति प्राप्त गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

राईले धरानमा जननायक गिरिजाप्रसाद कोइरालाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चिकित्सा केन्द्र निर्माण गर्नुभएको कुरा स्मरण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here