काठमाडौं,१७ जेठ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘सेफगार्ड्स , एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सो विधेयक सुझावसहित पारित गरेको हो। सम्बन्धित निकायको सुझावसहित सो विधेयक पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । समितिको बैठकले सो विधेयक प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ।
आयोतित वस्तुका कारण स्वदेशी उद्योगलाई हुने गम्भीर हानि तथा नोक्सानीबाट रोक्ने कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो। विधेयकमा स्वदेशी उद्योगलाई गम्भीर नोक्सान पुर्याउने गरी कुनै पनि वस्तुको आयात भएमा त्यसलाई रोक्न भन्सारमा अतिरिक्त महशुल लगाउने, त्यस्तो मालवस्तुको आयातमा पूर्ण वा आंशिक परिमाणात्मक बन्देज लगाउने प्रावधान राखिएको छ।
स्वदेश उद्योगको हितका लागि अतिआवश्यक सो विधेयक समितिले आवश्यक छलफल गरी पारित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिप्रति आभार व्यक्त गरे।
मन्त्री यादवले सो विधेयकले स्वदेशी उद्योगीहरुको हित प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारे।

