स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण-मन्त्री लालबाबु पण्डित

काठमाडौँ, ९ फागुन- संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् ।

मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई भेट गरी लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोमास, सुधारिएको चुलो, वायु ऊर्जा प्रविधिबाट जनताको ऊर्जाको बढ्दो माग पूरा गराउन नेपाल सरकार र सरकारका सम्बद्ध निकायबाट सशक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिइएको छ ।

सो अवसरमा मन्त्री पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति तथा कार्यक्रम सहज प्रक्रियाबाट कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुने बताउनुभयो ।

उहाँले वैकल्पिक ऊर्जाका कार्यक्रमबाट दुर्गम हिमाली, पहाडी जिल्लाका साथै तराईका बासिन्दामा ऊर्जाको पहुँच बढाउन सरकार, सहयोगी निकाय र निजी क्षेत्र एकजुट भई समन्वयनात्मक ढंगले क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । परम्परागत र आयातित इन्धनको निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाको प्रवद्र्धनबाट वातावरण संरक्षणमा ध्यान दिइनेछ मन्त्री पण्डितले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here