स्थानीयमा कर्मचारी र कानूनको अभाव

तुलसीपुर, १३ भदौ:स्थानीय तहले कर्मचारी र कानूनको अभाव नै मुख्य समस्या भएको बताएका छन् ।
जिल्ला समन्वय समितिले दाङको घोराहीमा मङ्गलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा कर्मचारीको अभावका कारण स्थानीय तहमा विनियोजन भएको रकमसमेत खर्च नभएर फर्केको अवस्था भएको बताइएको छ ।

“स्थानीयतहमा जनताका अपेक्षा धेरै छन्, तर कर्मचारी र कानूनको अन्योलता नै मुख्य समस्या भएको छ”, समीक्षामा बङ्गलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो ।

त्यस्तै राजपुर गाउँपालिकाले पनि मुख्य समस्याको रूपमा जनशक्ति अभाव नै औँल्याएको थियो । “गाउँपालिकामा कर्मचारीको अभाव छ”, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भन्नुभयो, “तर काम गर्नुपर्ने क्षेत्र धेरै छन् ।” स्थानीय तहमा जनशक्तिको अभाव भए पनि भएको जनशक्ति र स्रोत साधन प्रयोग गरेर स्थानीय तहले आशालाग्दा कामको सुरुवात गरेका बताएको छ ।
मङ्गलबारदेखि शुरु भएको समीक्षा बैठकमा स्थानीय तह, सरकारी कार्यालय र गैरसरकारी संस्थाले आफ्नो प्रगति विवरण राख्ने काम भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले संविधानको अधिकारमा टेकेर स्थानीय तह, कार्यालय र गैरसरकारी संस्थालाई नागरिकप्रति थप जवाफदेही बनाउन समीक्षा कार्यक्रम गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here