काठमाडौं,४ पुस– घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् । घर-घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौर्य ऊर्जा खरिद गर्ने कार्यविधि ऊर्जा मन्त्रालयले तयार पारेको हो । त्यससँगै घरधनीहरुले प्राधिकरणलाई बिजुली बेच्ने बाटो खुलेको हो ।
‘घरायसी तथा संस्थागत सौर्य विद्युत उत्पादन आयोजनाले प्राधिकरणबाट खरिद गरेकोभन्दा प्रणालीमा दिएको बिजुली बढी भएमा खरिद गरिने छ,’ कार्यविधिमा उल्लेख छ । संस्थागत र घरायसी उत्पादन गणना गर्न ‘नेट इनर्जी मिटरिङ’ जडान गरिने व्यवस्था कार्यविधिमा छ ।
‘ग्रिड कनेक्टेड सौर्य ऊर्जा विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार घरायसी प्रयोजनका लागि पाँच सय वाटदेखि १० किलोवाटसम्म उत्पादन गर्न सकिनेछ ।
त्यसका लागि विद्युत विकास विभागबाट अनुमति लिनु पर्दैन । १० देखि चार सय ९९ किलोवाटसम्म विद्युत उत्पादन गर्नेलाई संस्थागत र पाँच सय वाटमाथिलाई व्यापारिक सौर्य ऊर्जा मानिने कार्यविधिमा उल्लेख छ । १० किलोवाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनीले भने विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति लिनुपर्नेछ ।

