सोरठी नाच देखाउँदै स्वास्थ्य एकाइ

गलकोट, १६ मङ्सिर ।  धम्जाको सामुदायिक स्वास्थ्य एकाइले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लोपोन्मुख सोरठी नाच प्रदर्शन गरेर आर्थिक सहयोग सङ्कलन गरिरहेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ मा रहेको सो एकाइमा नयाँ सेवा थप गर्न र निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउन सोरठी नाचबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको एकाइ प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उक्त एकाइले आर्थिक सङ्कलन गरेर अक्षय कोष स्थापना गर्ने उद्देश्य लिएर सो नाच प्रदर्शन गरिएको हो । एकाइ प्रमुख भण्डारीले भन्नुभयो, “कोषबाट स्वास्थ्य एकाइमा स्वास्थ्यका सेवा थप गरिने र बाहिर किन्नुपर्ने औषधि निःशुल्क रुपमा वितरण गर्ने योजना रहेको छ ।” माझकटेरा र ओखलेका केही स्थानमा मात्र सोरठी नाच प्रदर्शन गरेर ६ लाख १७ हजार २४० सङ्कलन गरिएको छ ।

नाँच प्रदर्शनबाट माझकटेराको द्वारामा रु ४४ हजार ११५, डाँडाघरमा रु एक लाख १८ हजार २८०, पँधेरापारीमा रु एक लाख ७२ हजार ९१०, ओखलेमा रु दुई लाख २७ हजार ६२०, फलामखानीमा रु २१ हजार ९२० र खाल केन्द्रमा रु ३२ हजार ३९५ सङ्कलन गरिएको छ । धम्जाका अन्यत्र स्थानमा कार्यक्रम गरिने र रकम वृद्धि हुने एकाइले जनाएको छ । यसअघि सो अभियान सञ्चालन गरेर रु एक लाख २३ हजार ८५५ सङ्कलन गरिसकिएको छ ।

एकाइले अक्षय कोषको ब्याजबाट उपचार गर्न आउने बालबालिका, गर्भवती, सुत्केरी, महिला, विद्यार्थी, वुद्धा, अपाङ्गता भएका व्यक्ति, निम्न वर्ग, दलित, जनजातिलगायतलाई स्वास्थ्यको शिक्षा दिने, सबै रोगको रोकथाम गर्ने, उपचार गर्ने र स्वास्थ्य प्रर्वद्धन गरी बिरामी दर, नवशिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर घटाउन सहयोग गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here