सुर्खेतको भट्टेघारीमा भएको आगलागीका बारेमा संसदमा ध्यानाकर्षण

web

काठमाण्डौं, २५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सो घटनाका बारेमा छानबिन गर्न उहाँले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का भीमबहादुर रावलले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ यसतर्फ सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । उहाँले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाउनुभयो ।

सोही पार्टीका बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here