बुटवल, २१ जेठ । श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक रु २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बुटवलमा आयोजना गरेको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रममा उनीहरुले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम रु २० हजार नयाँ पारिश्रमिकको माग गरेका हुन् ।
मजदूरका छोराछोरीको अध्ययन र स्वास्थ्य उपचारमा विशेष व्यवस्था गरी वैदेशिक रोजगारीमा जान बाध्य हुने परिस्थितिको अन्त्य गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।
सो अवसरमा जिफण्टका प्रदेश अध्यक्ष हरि कार्कीले उद्योगी र मजदूरबीचको सम्बन्ध एक अर्काको परिपूरक रहेको बताउँदै मजदूरलाई कम्तीमा रु २० हजार पारिश्रमिक तोकिनुपर्नेमा जोड दिनुभयो ।

