सुरक्षाको दृष्टिले प्रदेश २ संवेदनशील : गृहमन्त्री थापा

काठमाडौं,१२ बैशाखः गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षाको दृष्टिकोणले २ नं. प्रदेश नै सब भन्दा बढी संवेदनशील भएको  बताउनु भएको छ । बाराको सिमरा स्थित ईच्छा होटलमा बुधवार आयोजित २ नं. प्रदेश स्तरीय सुरक्षा रणनीति विषयक गोष्ठीमा उहाँले यो प्रदेशको लागि आवश्यक सुरक्षा रणनीति अपनाउन गृह मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

‘अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले त्यसै अनुसारको सुरक्षा योजना बनाउदै गृह मन्त्रालय अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘यहाँका सुरक्षाधिकारीलाई त्यसैअनुसार गर्न गराउन निर्देशित गर्छु । खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद् जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिने गरेको उहाँले बताउनुभयो ।

उहाँले गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजना सहितको निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो । ‘यो गोष्ठी महाविद्यालय पनि हो, यहा हामी नयाँ परिवेशमा उत्पन्न भएका सुरक्षाको बिषयमा गहन छलफल गर्छौ र नयाँ कार्ययोजना सहित सुरक्षा रणनीतिको निष्कर्ष निकाल्छौ,’ उहाँले भन्नुभयो, ‘जसले जनताको सुरक्षा, जनतालाई दिईने सेवालाई सहज बनाउन मद्दत गर्छ ।’

देशका ७ वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात २ नम्बर प्रदेशबाट गर्नुमा राजनीतिक अस्थिरता एउटा कारण रहेको उहाँले बताउनुभयो ।  २ नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस विषयमा जोड दिएर छलफल गर्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here