वीरगञ्ज,५ पुस– वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहान ६ बजेदेखि सुरु भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको हो। यद्यपि मानवीय क्षतिको प्रहरीले पुष्टि गरिसकेको छैन।
वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले आगो निभाउन गएका आफ्ना दुई कर्मचारीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार यादवप्रसाद अधिकारी र मधुसुधन मिश्रको आगलागीमा ज्यान गएको हो।
दमकलकै अन्य दुई कर्मचारी घाइते भएका छन्। घाइते अरुणकुमार महतो र सञ्जीव नेपाललाई स्थानीय वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। आगो निभाउन गएको दमकल जलेर ध्वस्त भएको छ।
आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल भीषण आगलागीका कारण घटनास्थल जान सकेका छैनन्।
उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगे पनि आगोका कारण उनीहरू पनि दुई किलोमिटर वर नै रोकिएका छन्। ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन नसकिएको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख कार्कीले बताए। घटना हुँदा ग्यास प्लान्टमा कति मानिस थिए खुल्न सकेको छैन।

