काठमाडौं, ३० चैत्र । ३३ किलो सुन प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी प्रेमराज चौधरीले आत्महत्या गरेका छन् । चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका हुन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहानै ट्वाइलेटमा मृत अवस्थामा फेला परेका हुन् । उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

