सुन्तलाबाट ३८ करोड आम्दानी

गोरखा, २१ माघ। गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड आम्दानी भित्रिएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले बताउनु भयो।

जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उहाँले बताउनुभयो । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम ५० देखि अधिकतम ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यस्थापन, सिँचाइको राम्रो व्यवस्था लगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पु¥याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताउनुभयो । जिल्लामा कूल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here