सुनौली नाकामा एसएसबीको कडा चेकिङ

 

भैरहवा, १० साउन–  भारतीय अर्धसैनिक बल (एसएसबी)ले सुनौली नाकामा नेपालबाट भारततर्फ जाने सम्पूर्ण मालवाहक गाडीमाथि कडा चेकजाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया असहज बन्न थालेको छ ।

भारतीय सुरक्षाकर्मीले पाँच दिनदेखि सिमानामा गरेको कडा चेकजाँचले औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान नेपाल छाडेर फर्केका भारतीय गाडी सिमाना पार गर्न तीन/चार दिनसम्म नेपालतर्फ लाइनमा पालो पर्खंदै बस्ने गरेका छन् । सिमानादेखि करिब ४ किलोमिटर वर नेपालतर्फ गाडीको लाइन छ । भारत फर्किनका लागि लाइनमा पालो कुरेका भारतीय मालवाहक ती गाडी नै गन्तब्यमा पुगेपछि माल लिएर आउने भएकाले भारतीय पक्षको चेकजाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रियालाई समेत प्रभाव पार्ने अवस्था निम्तिएको छ ।

अन्य दिनको तुलनामा चेकजाँच कडा पारिएपछि भारतबाट आउने मालवाहक गाडीको संख्या घट्न थालेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार, अन्य दिनको तुलनामा दैनिक करिब १ सय मालवाहक गाडीको आगमन घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी गोपाल भट्टराईले भारतीय पक्षबाट सुनौली नाकामा मात्र हुन थालेको कडा चेकजाँचले आयात निर्यात प्रक्रियामा असर पार्न थालेको बताए ।

भारतसँगको अन्य नाकामा सामान्य र भैरहवा नाकामा मात्रै चेकजाँच र खनतलासी कडाईले फर्किन पालो कुरेर तीन/चार दिन बिताउनु पर्ने भएपछि भैरहवा नाका परिवर्तन हुने संभावना बढ्न थालेको भट्टराईले बताए । पछिल्लो समयमा भारतबाट नेपाल आउने औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको आयात सुनौली नाकाबाट बढ्दो छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here