सीमारेखाले छेकेन आत्मीयता

काठमाडौं,२ जेठ । बस्तीको बीचमा फराकिलो बाटो। नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर। बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै। झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन। साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन्।

पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन्। ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ।’ उनका अनुसार दुई छिमेकीबीच भारतीय र नेपाली भन्ने छैन। परेका बखत सबैले सरसहयोग गर्छन्।

भारततिर आधारभूत सुविधा शून्य छ। नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ। ‘मेरो चार पुस्ताले यही ठाउँमा जीवन बिताए,’ श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन्। भारततर्फ बिजुली छैन। अहिलेसम्म मट्टितेलबाट नै बत्ती बाल्छन्। शौचालय छैन। मेची खोलामा जान्छन् शौच गर्न। ‘मठमन्दिर एउटा पनि बनाएका छैनन्। उनीहरू सबै नेपालतिरैका मठमन्दिरमा पूजाआजा गर्न आउँछन्,’ हकले भने।
नेपालतिर राजवंशी, गनगाई, मुसलमान, मुसहर, साह, दलित र केही पहाडे समुदायका गरेर करिब चार सय घर छन्। भारततिर साह, यादव, पश्चिमा र मुसलमान गरेर करिब दुई सय घर छन्। बिहार राज्यको दलेगाउँ पञ्चायत–३ मा पर्ने उक्त बस्ती बिहारकै सबैभन्दा पिछडिएको भूभाग रहेको भारततर्पmका अगुवा मिलाल यादवले वताए। ‘भारत सरकारले रासनकार्ड दिएको छ। अरू सुविधा छैन। नेपालका घरमा झिलिमिली बत्ती बल्दा हामी मट्टीतेल हालेर टुकी बाल्छौं’, यादवले भने, ‘हामीलाई आफ्नो सरकारले विभेद गर्‍यो तर नेपाली छिमेकी नै हाम्रा दुःखका साथी हुन्।’

उनीहरूले बाउबाजेको पालादेखि नै ‘तँ नेपाली, तँ भारतीय’ भनेर कहिले झगडा गरेनन्। ‘बेलाबेला बाहिरका मान्छे गाउँमा आउँदा अचम्म मान्छन् र सोध्छन्,’ मिलालले भने, ‘अनि ए हामी त छुट्टछुट्टै देशका पो हौं भन्ने हुन्छ।’ ‘हाम्रा चिसा लुगा लगेर नेपालमा सुकाउँछौं। उता मिठो तरकारी पाक्यो भने भारततिर ल्याइदिन्छन्। एउटै समाज भएर बसेका छौं,’ भारतीय बस्तीकी उम्राओ साहले भनिन्, ‘बिहेबारी चल्छ। केही दिनअघि नेपाली छिमेकी छोरीको बिहेमा हामी सबै भारतीयले सघायौं। समाजमा कोही बिरामी पर्दा दुवैले गर्छौं। दसगजाभित्रको आआफ्नो भूभागमा छौं।’

बस्तीमा झैझगडा भएको छैन। अझै आफ्नो देशको कुरालाई लिएर त यहाँ कोही बोलेको सुनिँदैन। दसगजाभित्र बसोबास गर्न मिल्दैन। अझै बस्ती नै बसाउन झनै मिल्दैन। सुरक्षाका दृष्टिले पनि दसगजा क्षेत्रभित्र बसोबास गर्न दिन नहुने भन्ने अन्तर्राष्ट्रिय नियम छ।

त्यसो त दुवै देशको सहमतिका आधारमा सरकारी सुरक्षाका अस्थायी क्याम्प भने राख्न सकिने सीमाविज्ञ चिन्तामणि दाहालले बताए। उनका अनुसार कानुन एकातिर बोल्छ, अर्कोतिर दसगजाभित्र रहेको पाठामारी बस्तीले दुवै देशबीचको मित्रतालाई पनि इंगित गरको छ।

उक्त बस्ती वर्षौंदेखि नेपाल र भारत दुवै पक्षले हटाउन खोजेको छ। ‘भारततर्फ आधारभूत सुविधा नहुनुको कारण पनि भारत सरकारले बस्ती उठाउन खोजे पनि नसकेको हो,’ दाहालले भने। त्यसो त पछिल्ला वर्षमा हटाउने प्रयास पनि भएका छैनन्। उक्त ठाउँमा पक्की घर पनि बन्न थालेका छन्। आजको अन्नपुर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here