काठमाडौं,६ असार–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिहदरवारको पश्चिमी मोहडालाई बाह्य क्षतिबाट जोगाउन काम शुरु गरेको छ ।
बर्षा सुरु भएकाले तत्कालका लागि पानीबाट जोगाउन आजदेखि बिशेष खाले प्लाष्टिकले पश्चिमी मोहडातर्फको ३३ हजार १ सय फिट क्षेत्रफलको छानालाई छोप्ने कार्य शुरु भएको हो ।
क्षतिग्रस्त सो भागलाई पुर्ण रुपमा ढाक्न करिब एक साता लाग्ने प्राधिकरणका सहसचिव प्रकाश थापाले बताउनुभयो । प्राधिकरणले सिहदरवारको सो भागलाई प्रवलीकरण गरी पुनर्निर्माण गर्न कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति नै गठन गरेको छ ।
उपसमितिले अन्य बिज्ञ सदस्यसाग राय सल्लाह लिएर प्रवलीकरणको काम अघि बढाउनेछ । केही परामर्श दाता कम्पनीले सिहदरबारको सो भागलाई भत्काउने सल्लाह दिएपनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले एशियाकै ऐतिहासिक धरोहरको रुपमा रहेको सिहदरवारको मौलिक संरचना जोगाउन आवश्यक रहेको भन्दै सो भवनलाई नभत्काएर प्रवलीकरण गर्ने गरी पुनर्निर्माण गराउने निर्णय गराउनुभएको थियो । सो भवनलाई प्रवलीकरण गरी संग्रालयको रुपमा विकास गर्ने प्राधिकरणको योजना छ ।

