सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ, २८ जेठ- समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले  दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ ।

दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।

विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई (युरो २२५,०००) राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिनुभयो ।

समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय अनुदान पाएको हो ।

यही जेठ १ देखि १७ गते अर्थात् (मे १५ देखि ३१, २०१८) सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट सञ्जालका संस्थापक ढकालले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा बुकिङ डटकमले गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवं सामाजिक पक्षलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करीब २० लाख युरोबराबरको राशि अनुदान उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here