बुटवल,१७ चैत । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आन्तरिक विवादले काँग्रेस कमजोर भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक विवादले आफुहरु कमजोर भएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले एक नेपाली काँग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि काँग्रेस एकै ठाउँमा उभिने वितिकै बलियो हुने दावी गर्नुभयो ।
चुनावमा काँग्रेसभित्र घात, अन्तरघात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नै साथीलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी बलियो नहुने तर्क गर्नुभयो । उहाँले अहिले काँग्रेसमा अनुशासन कमिटी निर्माण भैसकेकाले अब पार्टीमा घात, अन्तरघात गर्नेलाई कडा कार्वाही हुने बताउनुभयो ।
सभापति देउवाले अहिले देशमा कम्युनिष्ट शासन स्थापित गर्न लागिएको बताउँदै यसतर्फ काँग्रेसका सबै नेता कार्यकर्ताहरु सजग हुनुपर्ने उल्लेख गर्नुभयो ।

