साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या प्रकरणमा थुनछेक बहस शुरु

काठमाडौं,२७ बैशाख–साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनछेक बहस आज शुरु हुँदैछ । सो सम्बन्धी मुद्दाका प्रतिवादीहरुको बयान पूरा भएकाले जिल्ला अदालत मोरङमा थुनछेकको बहस आज सुरु हुने भएको हो । सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाका ६३ आरोपित मध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान अदालतले लिइसकेको छ ।

थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट बहस गर्न ४४ जना कानुन व्यवसायीले ‘वकालतनामा’ दर्ता गराइसकेका छन् । आज काठमाडौं र अन्य जिल्लाका कानुन व्यवसायीले पनि वकालतनामा दर्ता गराउने भएका छन् । सरकार पक्षबाट बहस गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयका वकिललाई सघाउन सरकारी वकिलहरुको समूह बनाइएको छ ।

समूहमा उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन् । यो मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० जनाबाहेक मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेसहित ३३ जना फरार छन् ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत साता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here