साउदीमा १७ नेपाली अलपत्र

एजेन्सी—साउदी अरबको एक कम्पनीले दूतावासमा आफू विरुद्ध उजुरी दिएको भन्दै कामबाट निकालेपछि १७ जना नेपाली समस्यामा परेका छन् । साउदीको मोरब्बा अलघिजा फ्याक्ट्री फर फुड प्याकेजिङ्ग कम्पनीमा काम गर्न गएका धनुषाका ११ सहित १७ जनालाई कम्पनीले कामबाट निकालिदिएको हो ।

काठमाडौंको धापासीमा रहेको भेलोर इन्टरनेशल प्रालिबाट गएका उनीहरु साउदी गएका थिए । उनीहरुलाई म्यानपावरले महिनाको ८ सय रियाल पाउने गरी पठाएको थियो ।
काम र तलब भनेकै भएपनि समय भने झण्डै दोब्बर नै परेपछि उनीहरुले पटकपटक म्यानपावरलाई जानकारी गराएका थिए । ‘८ घण्टा काम गर्ने सम्झौता गरेर ल्याइए पनि हामीले दिनमा १२ देखि १४ घण्टा सम्म काम गर्न लगाइन्थ्यो अनि काम गर्ने समयमा पानी पिउन, चर्पी जान पनि दिदैन थियो । गएको थाहा पाए कामदारलाई कुटपिट गर्न थाल्यो ।’

अलपत्र परेकाहरु मध्ये धनुषाको धनौजी–१ रुपेशकुमार मण्डलले भन्नुभयो । त्यति मात्रै होइन २०७२ माघमा साउदी पुगेका उनीहरुलाई काम गरेको १३ महिना भइसक्दा पनि कम्पनीले बिमा गरिदिएन अनि परिचय पत्र अर्थात अक्कामा पनि बनाई दिएन ।

एक वर्ष बाटो हेर्दा पनि अवस्था जस्ताको तस्तै भएपछि उनीहरु मिति गएको २३ गते साउदीमा रहेको नेपाली दूतावासमा पुगेका थिए । दूतावासले आफूहरुको समस्या बारे फोन गरेको भोलिपल्टै कामबाट निकालिदिएको रुपेशले बताउनुभयो । ‘कम्पनीका विरुद्धमा उजुरी दिने भन्दै निकालिदियो’ रुपेशले फोनमा भन्नुभयो ‘परिवारको लागि सुख कमाउन साउदी आएँ तर अहिले परिवारमा रुवाबासी हुँदैछ दाजु । कसरी हुन्छ हामीलाई बचाई दिनुपर्‍यो । घरमा मेरो १ वर्षको एउटा छोरी पनि छ ।’

उहाँसँगै धनुषाको लगमा गाठागुठी गाविसका अखलेश कुमार महरा, कुर्मान साफी र नथुनि मण्डल, धनौजीका संजित कुमार मण्डल, राजकिशोर महरा, ओपेन्द्र दास, जीवछ मण्डल, राम उदगार मण्डल र राजेश झा, घोडघास गाविसका राम किशोर दास र जनकपुर १२ का विरेन्द्र कुमार मण्डललाई कम्पनीले निकालिदिएको हो । कम्पनीले निकालेकाहरुमा अन्य जिल्लाका ६ जना पनि रहेको अखलेश कुमार महराले बताउनुभयो ।

दूतावास भन्छ–‘घरबाट पैसा मगाएर घर फर्क ’

त्यति हुँदा पनि न म्यानपावरको फोन उठ्यो न त सञ्चालकको नै । त्यसैले फेरि पनि उनीहरु दूतावासमा पुगे तर त्यतिबेला भने दूतावासले ‘अब घरबाट पैसा मगाउने अनि घर फर्किने ’ भनेपछि उनीहरु उद्धारको पर्खाइमा छन् ।

दूतावास घरबाट पैसा मगाएर फर्क भन्छ तर उनीहर १७ जनासँगै राहदानी छैन । कम्पनीसँग राहदानी फिर्ता माग्दा ३ हजार रियाल मागेको छ । त्यसका लागि पनि शुक्रबारसम्मको म्याद दिएको थियो तर उनीहरुसँगै पैसा नभएकाले कसैले पनि कम्पनीलाई पैसा बुझाउन नसकेको रुपेश कुमार मण्डलले बताउनुभयो ।

त्यसैले उनीहरुलाई उद्धार गरिदिन आग्रह गर्दै परिवारले धनुषाको सूचना तथा परामर्श केन्द्रमा निवदेन दिएका छन् । सूचना केन्द्रले प्रवासी नेपालि समन्वय समिति (पिएनसिसी) को सहयोगमा म्यानपावरलाई पटक पटक फोन गरिरहेको भएपनि अहिलेसम्म फोन नउठेको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here