नेपाली कथानक चलचित्र ‘साईंली’ र ‘सुभ लभ’ हलमा रिलिज हुँदा अर्को नेपाली चलचित्र ‘अमेरिकन बाबु’ भने दर्शकले टेलिभिजनमा हेर्न पाउने भएका छन् । ‘अमेरिकन बाबु’ लाई वितरक तथा हल सञ्चालकले हलमा प्रदर्शनका लागि लिन नामाने पछि डिसहोमको सिनेमा घर च्यानल नं १०८मा आजबाट प्रदर्शन सुरु भएको हो ।
अमेरिकामा निर्माण गरिएको चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, राजेश गुरुङ, प्रवेश उप्रेति लगायतका कलाकारको अभिनय छ । अमेरिकामा बसिरहेका नेपालीको जीवन संघर्षलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु’लाई ईश्वर थापाले निर्देशन गरेका हुन् । राजेश गुरुङ, मीना रानामगर, सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । नेपालमै निर्माणको इजाजत लिएर निर्माण गरिएका वार्षिक दर्जनौं चलचित्र वितरकले लिन नमान्दा डब्बा हुने गरेका छन् ।

