सांसद ४ घण्टा घेराबन्दीमा, किन भयो दुव्र्यवहारको प्रयास

काठमाडौं,५ जेठ ।  बाँकेको नरैनापुरमा प्रतिबन्धित लागूऔषध चरेससहित प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गर्न माग गर्दै प्रदेशसभा सांसदलाई करिब ४ घण्टा घेराबन्दीमा पारेर दुव्र्यवहारको प्रयास गरेका छन् ।

शुक्रबार बिहान आफ्नो निर्वाचन क्षेत्रको अति नै विकट नयाँगाउँ, खयरभट्टीलगायतका ठाउँको स्थलगत अवलोकन गरी फर्कदै गरेकी प्रदेश ५ की प्रदेशसभा सांसद कृष्ण केसी नमुना ठूलो संख्यामा रहेको भीडको घेराबन्दीमा परेकी हुन् ।

नरैनापुर गाउँपालिका कार्यालयअघि पसल गर्ने भारतीय मूलका व्यावसायी देवीदिन विश्वकर्माका साथबाट प्रहरीले ५ किलो चरेससहित नियन्त्रणमा लिएको निहँुमा स्थानीयसहितका भारतीय नागरिकको भीडले व्यवसायी विश्वकर्मालाई रिहा गर्न माग गर्दै प्रहरी चौकी घेरा हाल्दै ढुंगामुढासमेत गरेका थिए ।

कटकुइयाबाट नरैनपुर आउँदै गरेकी सांसद केसीको गाडी तोडफोड गरी घेराउ गर्दै भीडमा रहेका व्यक्तिले ‘तँ यहाँको माननीय होस् जसरी पनि देवीदिनलाई छुटाउनुपर्छ, नछुटाउँदासम्म जान पाउदिनस्’ भन्दै आफू चढेको गाडीका चारवटै पांग्राको हावा खोली आगजनीको प्रयास गरेको सांसद केसीले बताइन् ।

स्थानीय तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत आएका मानिसको भीडले इलाका प्रहरी चौकी नरैनापुरमा समेत आक्रमणको प्रयास गरेपछि हवाई फायरसमेत भएको थियो ।  उनले नरैनापुरको सुरक्षाका लागि राज्यले सोच्नुपर्ने अवस्था आएको बताइन् । सांसद केसीको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगे पनि भीड अत्यधिक भएका कारण करिब ४ घण्टापछि मात्र उनको उद्धार भएको थियो ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत आएका मानिसको भीडले नरैनपुरमा रहेको प्रहरी चौकीमा समेत आक्रमणको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत भएको जनाएको   छ ।

बाँकेका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले राइफलबाट ६२ राउन्ड, पेस्तोलबाट एक राउन्ड गरी ६३ राउन्ड साथै सशस्त्र प्रहरीले ५ राउन्ड हवाई फायर ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको बताए । सो घटनामा परी दुई जना सशस्त्र प्रहरी र एक प्रहरी घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here