सांसद लिङदेनलाई मार्ने धम्की दिने पक्राउ

काठमाडौं,२७ चैत ।  सांसद राजेन्द्र लिङ्देनलाई मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको छ । ह्वाट्सएप, मोबाइल सन्देश र फोनमार्फत पैसा मागेको र नदिए मारिदिन्छु भन्दै धम्क्याउने झापा कचनकवल गाउँपालिका– ३ पथरियाका २९ वर्षीय तीलकदाश पराजुली र उनका सहयोगी हुम्ला सर्केगाड गाउँपालिका– ७ का १९ वर्षीय प्रदीप रोकायालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी  उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी  दिनुभयो ।
उनीहरुले अन्य व्यक्तिलाई समेत मोबाइल सन्देश र फोनमार्फत रकम माग गर्ने गरेका र नदिएमा गोप्य भिडियो बनाई बेइज्जत गरी मार्ने धम्की दिने गरेको खुलेको छ । पराजुलीले शुरुमा भारतीय मोबाइलमार्फत सन्देश पठाएको र पछि नेपाली सिम प्रयोग गरी ज्यान लिन भारतबाट नेपाल आएको भनी धम्क्याएको खुल्न आएको छ । उनले आफ्नो परिचय लुकाइ आर्थिक लाभ लिने उद्देश्यले लिङ्देनलगायतलाई विभिन्न माध्यामबाट सन्देश पठाइ धम्की दिएको चतुर्वेदीले जानकारी दिनुभयो ।
पराजुलीले प्रयोग गरेको मोबाइल र उनको नामको भारतीय आधार कार्डसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । रोकायालाई यही चैत १२ गते टोखाबाट तथा पराजुलीलाई यही चैत २५ गते बालाजुबाट पक्राउ गरिएको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
रोकायाले आफ्नो सिम आर्थिक प्रलोभनमा परी पराजुलीलाई प्रयोग गर्न दिएकोसमेत खुलेको छ । राप्रपाका नेता लिङ्देन झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here