काठमाडौं,२३ जेठ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ ।
संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिनुभएको हो ।
सभामुख महराले भन्नुभयो– “संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ । ”
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्नुभयो ।

