सांसदद्धारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि संशोधन दर्ता

काठमाडौँ, १५ साउन- ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ ।
प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ ।

प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराउनुभएको छ । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक हुनुहुन्छ । उहाँहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराउनुभएको छ ।

यसैगरी भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापाले पनि संशोधन दर्ता गराउनुभएको छ । शाखाका अनुसार सांसद देवप्रसाद गुरुङ, शान्ता चौधरी, कृष्णभक्त पोखरेल, तिलबहादुर महत क्षेत्री, विमला विक र पुष्पकुमारी कर्ण कायस्थले पनि संशोधन दर्ता गराउनुभएको छ । उहाँहरुले सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै आफ्नो संशोधन राख्नुभएको बताइएको छ ।

सहमतिमा के छ 

सरकार र प्रा डा केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here