साँखु, २६ असोज: साँखुका राजु श्रेष्ठलाई चाबहिलबाट साँखुसम्म यात्रा गर्न करीब दुई घण्टा लाग्छ । वर्खामा पानीले सडक हिलाम्मे त हुन्छ नै । त्यो बाहेक धुलोले यात्रा निकै सकसपूर्ण हुने गरेको उहाँ बताउनुहुन्छ । दस किलोमिटर सडक पार गर्न निकै कष्ट व्यहोर्नुपरेको श्रेष्ठको भनाइ छ ।
धुलोका कारण यात्रु मात्र होइन सडक छेउका सर्वसाधारणले निकै दुःख खेप्नुपरेको छ । सोही मार्ग हुँदै नियमित चाबहिलसम्मको यात्रा गर्दै आउनुभएका विद्यार्थी अजय पुडासैनी भन्नुहुन्छ, “हिलोमा सवारीसाधन चिप्लिएर दुर्घटना हुने सम्भावना हुन्छ भने हिउँदमा धूलोले सडकै देखिँदैन । धुलोले मान्छे बिमारी नै पर्छ । हामीले कति वर्षसम्म धुलो खानुपर्ने हो ?।”
सडकको अवस्था देखेर आजित बनेका नारायणटारका सुजन चौलागाईँ ट्याङ्करबाट पानी खन्याए धुलोबाट राहत पुग्ने बताउनुहुन्छ । “यहाँ न सडक बनाउन लाग्छन्, न धुलो हटाउन कुनै काम भएको छ,” उहाँले भन्नुभयो । चाडबाडको मुखमा चाबहिल–साँखु सडक विस्तार नसकिँदा जनजीवन अस्तव्यस्त बनेको छ । अझै कति वर्ष यस सडकको अवस्थाले सम्पन्नताको रुप लिने हो ठेगान नभएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउनुहुन्छ ।
सडक विस्तार शुरु गरेको वर्षौँ बित्दा पनि करीब ११ दशमलव ४६ किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गत वर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो । मुअब्जा प्रक्रियामा चल्दा सरकारले शुरुमा बजेट छुट्याउनु पर्नेछ र जग्गाको सर्वे गर्दा, मुअब्जा दाबी गर्दा तथा वितरणमा लामो समय लाग्ने श्रेष्ठको भनाइ छ ।

