काठमाडौं,१५ साउन- सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । उहाँले राष्ट्रको परिवर्तित आवश्यकता परिपूर्ति तथा विशेष सुरक्षा प्रदान गर्न हालको संचरनालाई परिमार्जन गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताउनुभयो ।
हाल ६३ जिल्लामा उपस्थिति जनाएको सशस्त्र प्रहरी बल अब ७७ जिल्लामा उपस्थित हुनेछ । हाल विद्यमान पाँच वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी सातै प्रदेश र उपत्यकामा एक गरी आठ बाहिनी स्थापना गरिएको उहाँले दिनुभयो । सशस्त्र प्रहरी बल ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले प्राविधिक सेवालाई स्तरोन्नति गरिने बताउनुभयो ।
त्यस्तै विद्यमान तालीम केन्द्र यथावत राखी थप नयाँ पाँच तालीम केन्द्र स्थापना गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका सीमावर्ती जिल्ला र सिन्धुपाल्चोकमा हाल रहेका ८७ सीमा निरीक्षण पोस्ट (बिओपी) लाई अन्तर्राष्ट्रिय मान्यताअनुसार गणबाट परिचालित हुने गरी पोस्टको संख्या वृद्धि गरिएको उहाँले बताउनुभयो । पोस्टको संख्या वृद्धि गरिएसँगै पोस्टमा खटिइने जनशक्तिको पनि वृद्धि गरिएको छ ।
हाल एउटा विओपीमा २३७ जनशक्ति कार्यरत रहेकामा अब उक्त जनशक्ति बढाएर ६२१ पु¥याइएको छ । सशस्त्र प्रहरी बललाई बढीभन्दा बढी प्रभावकारी र जनमुखी बनाइने उल्लेख गर्दै उहाँले संगठनमा व्यक्तिगत सरुवा पद्धतिको अन्त्य गर्दै युनिट सरुवा प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

