सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

काठमाडौँ, १० चैत: सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ ।

सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आज सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले उद्घाटन गर्दै विशेषगरी महिला कर्मचारीहरु सुत्केरी बिदा सकिएपछि शिशुलाई कसरी हुर्काउने भन्ने समस्याबाट चिन्तित हुने र शिशु घरमै भएपछि काममा समेत प्रभावकारीता नहुने भएकाले यसको न्यूनीकरणका लागि सो केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

विद्यालय जानुअघि कर्मचारीका छोराछोरीलाई शारीरिक, बौद्धिक र मानसिक विकास गराई समयानुकूल वातावरणमा प्रवेश गराउनु नै केन्द्रको मुख्य उद्देश्य रहेको शिशु स्याहार केन्द्रको स्थापना गर्न खटिनुभएकी शाखा अधिकृत सम्झना सिंखडाले जानकारी दिनुभयो ।

शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहारको व्यवस्था मिलाइएको छ । शुरुमा दुई जना आमा (कर्मचारीको) व्यवस्था गरिएको छ भने आवश्यक सहयोगका लागि सर्वोच्च प्रशासनलाई जिम्मा दिइएको छ ।

सो केन्द्रमा ६ महीनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ । स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आजैदेखि शुरु भइसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here