काठमाडौं, ९ पुस – कैलालीको टीकापुर घटनाका प्रमुख अभियुक्त रेशम चौधरीलाई पक्राउ गर्ने बाटो खुलेको छ । कैलालीका निर्वाचन अधिकृतविरुद्ध चौधरीले दर्ता गराएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदातले आज दिएको आदेशसँगै उनलाई पक्राउ गरी कारबाही अघि बढाउने बाटो खुलेको हो ।
सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले वारेन्ट जारी भएको अवस्थामा कैलाली पक्राउ नपरेका अभियुक्तविरुद्ध म्यादी पुर्जी पनि जारी हुने जनाउँदै फरार अभियुक्तलाई प्रहरीले जहिलेसुकै पक्राउ गरी अदालनमा दाखिल गराउन सकिने आदेश दिएसँगै चौधरीलाई पक्राउ गर्ने बाटो खुलेका हो ।
‘आफूविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने यी निवेदक (रेशम चौधरी) ले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी समेतको अवज्ञा गरिरहेको प्रष्ट देखिन्छ’ , सर्वोच्चको आदेशमा भनिएको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एमव् प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउँछ भन्नु कदाचित मिल्दैन । अभियोग लागेका व्यक्तिले कानुन वमोजिम सफाई लिनुपर्ने हुन्छ ।’
मोक्तानको इजलासले उक्त आदेश दिएसँगै कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा चौैधरीले सांसदको प्रमाणपत्र पाउन दिएको निवेदन पनि दर्ता नहुने भएको छ । सर्वोच्चको यो आदेशले चौधरीलाई कैलाली जिल्ला अदालतमा चलिरहेको मुद्दामा पक्राउ गरेर अदालतमा हाजिर गराउने बाटो समेत जिल्ला प्रहरी कार्यालयलाई खुलेको छ ।
चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत् पाउनुपर्ने माग गर्दै मंसिर २९ मा सर्वोच्च अदालत पुगेका थिए । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली १ बाट भारी मत अन्तरले विजयी भएका चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत् प्रमाणत्र नदिएको भन्दै सर्वोच्च पुगेका थिए । चौधरी टीकापुर घटनाका फरार अभियुक्त हुन् ।

