सरकार भन्छ – प्रदेशको अस्थायी राजधानीबारे कुनै निर्णय भएको छैन, भ्रममा नपर्नुस्

काठमाडाैं, १९ पुस – प्रदेशहरुको अस्थायी राजधानीबारे कुनै निर्णय नभएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राजधानी तोकिसकिएको भनेर प्रचार भएको र सोही आधारमा कतिपय जिल्लामा आन्दोलन समेत सुरु भएपछि सरकारले आज बिज्ञप्ती जारी गरेर अस्थायी राजधानी नतोकिएको प्रष्ट पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा भ्रममा नपर्ने यो प्रेस विज्ञप्ति जारी गरिएको छ । प्रदेशिक राजधानीको विषयलाई लिएर देशका विभिन्न स्थानमा हड्ताल र आन्दोलनका कार्यक्रम सुरु भएलगत्तै सरकारले स्थान नतोकिएको प्रस्ट्याएको हो ।प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेल संयोजकत्वको समितिले सातै वटा प्रदेशको अस्थायी राजधानीबारे मंगलबार प्रतिवेदन दिएको थियो । तर सोही आधारमा नभई थप छलफलपछि अस्थायी राजधानी तोकिने सरकारले जनाएको छ । सरकारले अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक बोलाएको छ। विस्तृत छलफलपछि मात्र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here