सरकारी साधन र स्रोतको दुरुपयोग भयोः एमाले

web

काठमाडौँ, ६ असार । नेकपा (एमाले) ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको जनाएको छ ।

एमालेले आज विज्ञप्ति जारी गरी आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन गर्नेसम्मका क्रियाकलाप भएकामा ध्यानाकर्षण गराएको छ ।

यही असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको एमालेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेको आरोप छ ।

“घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ गरिएको छैन ।” एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बाँके र सोलुखुम्बुमा पनि एमालेका कार्यकर्तामाथि हिंसा भएको एमालेको दाबी छ । निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्न एमालेको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here