पोखरा, १३ साउन- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गर्नुभएको छ ।
उहाँले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।
पोखरामा रहेको राससको जग्गा केन्द्रस्थानमा रहेको बताउँदै उहाँले प्रदेशको पनि संरचना भइसकेका अवस्थामा यसलाई राम्रो आम्दानी गर्ने गरी उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । सरकारी सञ्चारमाध्यमका छरिएर रहेका जग्गा संरक्षण गर्न आवश्यक रहेकामा पनि मन्त्री बाँस्कोटाले जोड दिनुभयो ।
मन्त्री बाँस्कोटालाई रासस गण्डकी प्रदेश कार्यालयको भौतिक अवस्थाका साथै कार्यालय र अन्तर्गतका जिल्लाबाट सम्प्रेषण भइरहेका समाचार सम्बन्धमा उपसमाचारदाता वासुदेव पौडेलले जानकारी दिनुभएको थियो ।

