काठमाडाैं,२३ असाेज । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले समर्थन फिर्ता लिने तयारी स्वरुप अल्टिमेटमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
उहाँले भन्नुभयो – सरकारले केही गर्छ भन्ने विश्वास थियो, यो अवस्थामा पनि सरकारलाई समर्थन गरीरहे जनताले हामीलाई धिक्कार्नेछन् । सरकार सबै मोर्चामा असफल भएको राजपाको आरोप छ । मुलुकमा सुशासन कायम , बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन , भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको नेता यादवको भनाई छ ।
यस्तै पछिल्लो समय चाडबाडका मुखमा पेट्रोलियम पदार्थ, खाद्य पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्य बढाएर सरकारले जनतामा निरासा पैदा गरेको राजपाको आरोप छ । वर्तमान सरकारले संघीयतालाई असफलतातिर धकेलेको पनि नेता यादवको भनाई छ ।
संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने , प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई शपथ ग्रहण गराउनु पर्ने लगायत राजपाको माग छ । यसअघि राजपाले आजै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यसैबीच ज्ञापनपत्र बुझ््दै प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

