दमौली, १० चैत: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको योजनामा सबै नेपाली समावेश हुनुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा आयोजना गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले ल्याएको योजनामा स्थानीयको सहभागिता भए मात्रै समृद्धिको योजना सफल हुने बताउनुभयो । मुख्यमन्त्री गुरुङले समृद्धिको योजनामा गाउँ–गाउँका जनतालाई समावेश गराएर अगाडि बढ्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारले जतिसुकै राम्रो योजना ल्याएपनि स्थानीयको सहभागिता भएन भने त्यसको प्रभावकारिता हुँदैन ।” मुख्यमन्त्री गुरुङले आर्थिक समृद्धिको लहरको शुरुआत भइसकेकाले समृद्धिको योजना बनाएर प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले प्रत्येक गाउँमा गण्डकी प्रदेश सरकारको अनुभूति जनताले गर्न पाउने भन्दै गाउँबाटै विकासको अभियान शुरु गरिने बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले दुई वर्षभित्र सबैको घरमा बिजुली र खानेपानीको सुविधा पु¥याइने दाबी गर्नुभयो । उहाँले अहिलेको कृषि प्रणालीले समृद्धि सम्भव नभएकोले कृषिमा आधुनिकीकरण आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाल कृषि प्रधान देश भएकाले कृषिको व्यावसायिक विकास गर्न आवश्यक रहेको बताउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक समृद्धिको शुरुआत गाउँबाटै गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ बनाउने सरकारको लक्ष्य बमोजिम पहिलो चरणमा ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम लागू गरिएको बताउनुभयो ।

