काठमाडौं,२८ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले काम केही नगरी समृद्धिको नारा मात्र लगाएको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान सरकारले सुशासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाउनुभयो ।
काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको दावी गर्नुभयो । उहाँले दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने बताउनुभयो ।
नेपाली जनतालाई अधिकार दिलाउनका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको आश्वासन दिनुभयो । सरकार संविधानको भावना र मर्मविपरीत अगाडि बढ्न खोजे कांग्रसले प्रतिवाद गर्ने बताउनुभयो ।

